बझाङ– बझाङमा एसईई परीक्षा दिइरहेका एक विद्यार्थीमाथि धारिलो हतियार प्रहार भएको छ भने तीन जनालाई कुटपीट गरिएको छ ।
खप्तडछान्ना गाउँपालिका–५ कालुखेतीस्थित खप्तड माविमा परीक्षा दिइरहेका पाटादेवलका १७ वर्षीय खप्पिस थापामाथि धारिलो हतियारले प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक भरत शाहले बताउनुभयो ।
उनीमाथि आक्रमण गर्ने एक जना पक्राउ परेका छन् भने अन्यको खोजी कार्य भइरहेको छ ।
यस्तै दुर्गाथली गाउँपालिका–१ मौरीबगडस्थित चौधारी मावि जुँजी परीक्षा केन्द्रमा पनि परीक्षार्थीबीच झडप भएको छ ।
कुटपिटमा परी छविसपाथिभेरा गाउँपालिका– १ का १८ वर्षीय अभिषेक भण्डारी र खप्तडछान्ना गाउँपालिका–२ का १८ वर्षीय विमल बोगटी घाइते भएका छन्। भण्डारी र बोगटीलाई कुटपिट गर्नेहरूलाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ ।
मष्टा गाउँपालिका–६ भातेखोलास्थीत कुलमष्टजन माविको परीक्षा केन्द्रमा पनि एक परीक्षार्थी कुटिएका छन । परीक्षा दिएर बाहिर निस्किने क्रममा १७ वर्षीय मुन्न बोहरामाथि कुटपिट भएको प्रहरीले जनाएको छ ।
कुटपिटको कारण नखुलेको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक शाहले बताउनुभयो ।



