धनगढीः बझाङबाट नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद हुन्।
नेकपा एमालेका उम्मेदवार ऐनबहादुर महरलाई एक हजार एक मत अन्तरले हराउँदै जोशी निर्वाचित भएका थिए। जोशीले २८ हजार ४१३ मत पाउँदा महरले २७ हजार ४१२ मत पाएका थिए। नेकपा एमाले छाडेर एकीकृत समाजवादीमा प्रवेश गरेका जोशी अहिले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री छन्।
मन्त्रीको हैसियतमा उनले आफ्नो सम्पत्ति सार्वजनिक गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो। २०७४ फागुनमा केपी ओली नेतृत्वको सरकारको कार्यकालपछि मन्त्रीहरूको सम्पत्ति विवरण गोप्य थियो। हिजो सार्वजनिक गरिएको सम्पत्तिमा मन्त्री जोशीले बझाङमा २/२ रोपनी र काठमाण्डौँको चन्द्रागिरीमा चार आना २ धाम जग्गा भएको विवरण पेस गरेका छन्।
त्यस्तै बुबाको संगोलको ९ रोपनी जग्गा, ३२ तोला सुन र ६० तोला चाँदी देखाएका छन्। मन्त्री जोशीसँग एक लाख ६९ हजार नगद, ८ लाख रुपैयाँको शेयर, एउटा स्कुटर र ४३ लाख रुपैयाँ ऋण भएको विवरण सार्वजनिक गरेका छन्। त्यस्तै बैतडीबाट प्रनिनिधि सभा सदस्यमा निर्वाचित अर्का सांसद हुन दामोदर भण्डारी। उनी ३३ हजार ६ सय ११ मत ल्याएर विजयी भएका थिए।
भण्डारी तेस्रो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। उनी तत्कालिन गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै विजय भएका थिए। उनका प्रतिस्पर्धी माओवादीका नरेन्द्र कुँवर पराजित बन्न पुगेका थिए। भण्डारी अहिले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री छन्। उनलाई एमालेको सिफारिसमा दोस्रो पटक उद्योग वाणिज्य तथा आपूर्तिको जिम्मेवारी दिइएको हो।
भण्डारी गत वर्ष दुई महिना पुष्पकमल दाहाल नेतृत्वकै सरकारमा सहभागी थिए। उनले उद्योग मन्त्रालय सम्हालेका थिए। अहिले पनि सोही मन्त्रालय पाएका भण्डारीले पनि आफ्नो सम्पत्ति सार्वजनिक गरेका छन्। उनले बैतडीको पाटनमा ६ कोठे घर, बैतडीमा २ रोपनी र कञ्चनपुरमा २ कठ्ठा जग्गा रहेको उल्लेख गरेका छन्। यसका साथै मन्त्री भण्डारीसँग ६ तोला सुन, १२ लाख ३८ हजार नगद र होटलमा ८ लाखको शेयर रहेको विवरण पेस गरेका छन्।



