काठमाडौँः यस वर्षको मनसुन यही जुन १३ अर्थात् जेठ ३१ गतेदेखि नेपाल प्रवेश गर्ने आकलन गरिएको छ।
महाशाखाका मौसमविद् रोजन लामिछानेले नेपालमा मनसुन जुन १३ आसपास भित्रिने बताए। हाल मुलुकका विभिन्न भू–भागमा भइरहेको वर्षा मनसुनी वायुको प्रभाव नभई स्थानीय प्रणाली, पश्चिमी वायु र उत्तर प्रदेश तथा बिहार आसपासको न्यून चापीय प्रणालीको प्रभाव भएको उनले बताए।
मनसुन सरदर अवधि जेठ १९ देखि असोज १४ गतेसम्म मानिन्छ। तर मनसुन भित्रिने र बाहिरिने अवधि केही दिन तलमाथि हुने गरेको छ। यस्तै आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको विभागले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशको उत्तर–पश्चिमी भू–भाग, बागमती प्रदेशको दक्षिण–पूर्वी भू–भाग, मधेस प्रदेशको मध्य भू–भाग र कोशी प्रदेशको मध्य तथा मध्य–पश्चिमी भू–भागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ। अधिकतम तापक्रम देशका अधिकांश स्थानहरूमा सरदरभन्दा बढी देखिएको छ। मनसुनको आँकलन विश्व मौसम सङ्गठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानी प्रारुपहरूको आकलन र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आकलनको आधारमा तयार गरिएको विभागका प्रवक्ता सुनिल पोखरेलले बताए।



