फाइल फाेटाे
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यशैलीको विरोध गर्दै दुई जना मन्त्रीले सरकार नै ढालिदिने धम्की दिएका छन् । दुई जना मन्त्रीले अमेरिकी राष्ट्रपति जो बाइडेनले सार्वजनिक गरेको गाजा युद्धविराम प्रस्तावमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सहमति जनाएमा सत्ता छाड्ने र सत्तारूढ गठबन्धनलाई ध्वस्त पार्ने धम्की दिएका बीबीसीले जनाएको छ ।
अर्थमन्त्री बेजेल स्मोट्रिच र राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन–ग्विरले हमासलाई नष्ट नगरि हुने कुनै पनि सम्झौताको विरोध गर्ने बताएका छन् । स्मोट्रिचले नेतन्याहुलाई सम्बोधन गर्दै एउटा पत्र सार्वजनिक गर्नुभएको छ । जहाँ हमासलाई नष्ट नगरि र सबै बन्धकलाई फिर्ता नल्याई युद्ध समाप्त गर्ने अमेरिकी प्रस्ताव मानेमा विरोध गर्ने र सरकार छाड्ने उल्लेख छ ।
तर सबैभन्दा शक्तिशाली मानिएको विपक्षी दलका नेता यायर लापिडले भने प्रधानमन्त्री नेतान्याहुले अमेरिकी योजनालाई समर्थन गरेमा सरकारलाई समर्थन गर्ने प्रतिज्ञा जनाउनुभएको छ । अमेरिकी राष्ट्रपति बाइडेनको तीन भागको प्रस्ताव छ हप्ताको युद्धविरामबाट शुरु हुनेछ । जसमा इजरायली रक्षा बल (आईडीएफ) गाजाको रफाह क्षेत्रबाट फिर्ता हुनेछ । यस्तै सबै बन्धकको रिहाइ, शत्रुताको अन्त्य र गाजाका लागि एक प्रमुख पुनर्निर्माण योजना प्रस्तावमा उल्लेख छ । यो योजनालाई दुई जना मन्त्रीले चर्को विरोध गरेका छन् भने विपक्षीले समर्थन गरेका छन् ।
अहिले इजरायलमा युद्ध मन्त्रिपरिषद्ले सरकार चलाइरहेको छ । नेतान्याहु विभिन्न दलको समर्थनमा प्रधानमन्त्री बनेकाले एउटा दलले समर्थन फिर्ता लिए पनि सरकार ढल्ने सम्भावना हुन्छ ।


