धनगढीः वाई वाई यू १९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौटमा समूह बी का खेलहरू शनिबार देखि सुरु भएका छन्। उक्त समूहको पहिलो खेलमा शनिबार अछामले बझाङलाई ९८ रनले हरायो।
जितका लागि पाएको १६४ रनको लक्ष्य पछ्याएको बझाङ २३.१ ओभरमा ६५ रनमा समेटियो। उसका लागि पारस रोकायाले २४ रन बनाउनुबाहेक अन्यले सम्झनलायक प्रदर्शन गर्न सकेनन्। अछामका लागि युवराज खत्री एक्लैले ६ विकेट लिए। म्यान अफ द म्याच समेत भएका युवराजले ४.१ ओभर बलिङ गर्दै २ मेडन राखेर २ रन मात्रै खर्चिएर ६ विकेट हात पारेका हुन्।
त्यसअघि परशुराम नगरपालिका १२ स्थित जोगबुढा रंग मैदानमा पहिला ब्याटिङ गरेको अछामले ३८.३ ओभरमा १६३ रनमा सबै विकेट गुमायो। जसमा आषिश लुहारले ४३, युवराज खत्रीले ३७,रविन भण्डारीले ३४ रनको योगदान गरे। बझाङका अशोक धामी,पारस रोकाया र रोशन खत्रीले समान २र२ विकेट लिए। प्रतियोगिता अन्तरगत आज कैलाली र अछाम भिड्ने स्कोरर लोकेश जोशीले बताए।
समूह बी बाट शिर्ष स्थानमा पुग्ने टोली फाइनलमा बैतडीसंग भिड्नेछ। समूह ए बाट बैतडी शतप्रतिशत नतिजा तथा लिग चरणका सबै तीन खेल जितेर फाइनलमा पुगिसकेको छ। जेठ २० गतेदेखि सुरु भएको प्रतियोगितामा क्यान आवद्ध प्रदेशका ८ जिल्लाको सहभागिता रहेको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशीले बताए। प्रदेशस्तरीय छनौटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरिने छ।



