सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्धारा स्थानीय तहका कर्मचारीलाई कार्य क्षेत्रमा फर्कन आग्रह

धनगढी– आन्दोलनरत स्थानिय तहका कर्मचारीहरुलाई आ–आफ्नो कार्यक्षेत्रमा फर्कन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आग्रह गरेका छन । शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै मुख्यमन्त्री शाहले आन्दोलनरत स्थानिय तहका कर्मचारीहरुलाई आन्दोलनका कार्यक्रम फिर्ता लिएर आ–आफ्नो कार्यक्षेक्रमा फर्कन आग्रह गरेका हुन ।

उनले प्रदेश सरकारले कर्मचारीको वृत्ति विकासमा परेको अप्ठयारालाईसमेत मध्यनजर गरेर स्थानीय सेवा ऐन चाँडै जारी गर्ने भएकाले आन्दोलनका कार्यक्रम फिर्ता लिएर कार्यक्षेत्रमा फर्कन अनुरोध गरे । स्थानीय सेवा सम्बन्धी ऐन प्रदेश सभाबाट चाँडै जारी हुने मुख्यमन्त्री शाहको भनाइ छ ।

यो ऐन चाँडै जारी होस भनेर प्रदेश सरकारले प्रदेश सभाको अधिवेसन आह्वानका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको र सोही अनुसार जेठ ११ गते अधिवेशन पनि आह्वान भइसकेको विज्ञप्तीमा उल्लेख छ । स्थानीय तहमा कार्यरत कर्मचारीको वृत्ति विकास सम्बन्धि विषयमा प्रदेश सरकार सकारात्मक रहेको उनले बताए ।

सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा विचाराधीन अवस्थामा रहेको छ । प्रदेश सभाको विधायन तथा प्रदेश मामिला समितिले दफावार छलफल पश्चात आफ्नो प्रतिवेदनसमेत प्रदेश सभामा दर्ता गरिसकेको छ ।

स्थानीय सेवा ऐन चाँडै जारी गराउन दबाबस्वरुप स्थानीय तहका कर्मचारीले कार्यालयको कामकाज ठप्प पारेर आन्दोलन गर्दै आएका छन् । उनीहरुले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय अगाडि दैनिक धर्ना दिँदै आएका छन् ।

प्रतिक्रिया छाेड्नुहाेस्